अब सुप्रसिद्ध कवि तथा गीतकार रामबाबु सुवेदीका बालगीतहरुको भिडियो हेरेर रमाउन पाइने भएको छ । वहाँको रामबाबु सुवेदी नामको युट्युब च्यानल सुरु भएको छ । यस च्यानलमा हालसम्म ८ वटा गीतका एनिमेसन भिडियो अपलोड भइसकेको छ ।
आदरणीय लेखक सुवेदीका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू विद्यालयका कार्यक्रम हरूमा अत्याधिक रुचाईएका छन् । यस कारण यस च्यानलमा रहेका सबै गीतहरू बालबालिकाका लागि रुचिकर छन् ।
यस च्यानलमा उपलब्ध रहेका ८ गीतहरू १. ऋतुगीत २. इलाममा नपुगी मिठो चिया भेटिन्न ३. जमुनीको छोरो ४. बाँसको यो मदानी ५. आइबार बिहानै ६. आकाशका जूनतारा ७. पुस्तकका पानामा र ८. आफ्नै आमा जाती हुन् ।
ऋतुगीत, इलाममा नपुगी, जमुनीको छोरो, बाँसको यो मदानी, आइतबार बिहानै, आकाशका जूनतारा र पुस्तकका पानामा गरी ७ गीतमा वरिष्ठ संगीतकार रामेशको संगीत रहेको छ । च्यानलको आठौँ गीत आफ्नै आमा जातीमा भने वरिष्ठ संगीतकार डिल्ली चापागाईको संगीत र वरिष्ठ गायिका कुन्ती मोक्तानको गायन रहेको छ ।
त्यस्तै अन्य गीतहरूमा ऋतुगीतमा सुनिता सुब्बा र पवित्रा सुब्बा, इलाममा नपुगीमा रत्नशोभा महर्जन, जमुनीको छोरोमा टेम्दो छिरिङ गुरुङ र अङ्गमु गुरुङ, बाँसको मदानी बेनुका राई र रत्नशोभा महर्जन, आइतबार बिहानै स्वर्णिम स्कुलका विद्यार्थीहरू र पुस्तकका पानामा बेनुका राई र रत्नशोभा महर्जनको गायन रहेको छ ।
च्यानलमा एनिमेसनको प्रयोग गरिएको छ । ऋतुगीतका लागि एनिमेसनको प्रायोजन विमल ताम्राकारले गर्नुभएको छ । त्यस्तै जमुनीको छोरो बोलको गीतको एनिमेसन प्रायोजन रुपेश जोशीले गर्नुभएको छ ।
यस च्यानलमा नेपाली जनजीवनमा भिजेका बालगीतहरूको एनिमेसन भिडियोहरू रहेका छन् । नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न यस्तो प्रयासले सकारात्मक प्रभाव पार्नेछ । यस्ता कार्यलाई राज्यले प्रोत्साहित गर्नु आवश्यक देखिन्छ ।