रमेश विकल बालसाहित्य पुरस्कार कार्तिकेयलाई

राष्ट्रिय समाचार

काठमाडौँ / मंसिर १२, २०७८

विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित रमेश विकल बालसाहित्य पुरस्कार केटाकेटी अनलाइनका सम्पादक कार्तिकेयलाई  प्रदान गरिने भएको छ ।आज रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेद्वारा जारी विज्ञप्ती अनुसार रमेश विकल साहित्य प्रतिष्ठानको कार्य समिति  बैठकले वर्ष २०७८ का लागि पुरस्कार प्राप्तकर्ताहरूको नाम आज घोषणा गरेको हो । जसअनुसार विकल वाङ्मय पुरस्कार साहित्यकार प्रा.डा. चुडामणि बन्धुलाई, विकल समाजसेवा पुरस्कार डा. रवीन्द्र समीर र विकल सृजना  पुरस्कार विमल निभालाई प्रदान गरिने भएको छ । त्यस्तै विकल—सुशीला सङ्घर्षशील नारी पुरस्कार लक्ष्मी गौतम  र विकल कलासङ्गीत पुरस्कार पूर्ण हेजूलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले विकलका रचनामा आधारित रही ‘बालसाहित्यमा नैतिक चेतना’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधी गर्ने देवकी आचार्यलाई ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य (एमफिल) तहमा ‘विकलका कथामा अनुभूतिको संरचना’ शीर्षकका शोधकर्ता योगेश काफ्ले र  ‘विकलका कथामा समाख्यानात्मक वाच्यत्व’ शीर्षककी शोधकर्ता शान्ति न्यौपाने (रिसाल) लाई पनि ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गर्ने निर्णय गरिएको छ ।

यसै वर्षबाट दिन थालिएको यस शोध सम्मानका लागि विकलका पुत्ररत्नद्वय विजय चालिसे र महेन्द्र चालिसेबाट प्राप्त जनही  ५-५ लाख रुपैया गरी १० लाखको अक्षयकोष स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । घोषित पुरस्कारहरू आगामी पुष ३ गते गोकर्णेश्वर-९ आरूबारीस्थित नवअरूणिमा विद्यालको प्राङ्गणमा आयोजना गरिने एक विशेष  कार्यक्रममा वितरण गरिने बताइएको छ । 

पुरस्कारका लागि नाम सिफारिस गर्न प्रतिष्ठानका सचिव वसन्त रिजालको संयोजकत्वमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र डा. विन्दु शर्मा सदस्य रहनुभएको समिति गठन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *