कोरोना भाइरसको बढ्दो संक्रमणसँगै सम्भावित चौथो लहरबाट बच्न जर्मनीले खोप नलगाएका नागरिकलाई सार्वजनिक जीवनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। खोप नलगाएका नागरिकहरुका कारण संक्रमणको जोखिम बढेपछि उनीहरुका सार्वजनिक गतिविधिमा रोक लगाउन जर्मनीका राष्ट्रिय तथा क्षेत्रीय तहका नेताहरु सहमत भएका हुन् ।
कोरोना विरुद्धको खोप लगाएका र भर्खरै कोरोना संक्रमण भएर निको भएकाहरुलाई मात्रै रेस्टुरेन्ट, सिनेमा घर, विभिन्न मनोरञ्जनात्मक स्थल र पसलहरुमा जान छुट दिइएको छ । साथै जर्मनीकी चान्सलर एंगेला मर्केलले आगामी फेब्रुअरीदेखि कोरोना विरुद्धको खोप अनिवार्य गर्ने बताउनु भएको छ ।
जर्मनीमा ६८ दशमलब ७ प्रतिशत जनसंख्याले कोभिड खोप लगाएका छन् । जर्मनीमा कोरोनाको चौथो लहर निकै गम्भीर हुनसक्ने आँकलन गर्दै नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको हो । पछिल्लो २४ घन्टामा मात्रै ३ सय ८८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो समय भेटिएको कोरोनाको ओमिक्रोन भेरिन्टको जोखिम पनि युरोपेली देशहरुमा बढ्दो क्रममा छ । युरोपका १५ मुलुकमा ७९ जनामा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण देखिसकेको छ ।