राष्ट्रिय एकताको भावना जगाउन काभ्रेका पाँच विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरिएको छ । नेपाली सेनाले बालबालिकामा विद्यालय स्तरबाटै राष्ट्रिय भावना जागृत गर्न, अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो दल गठन गरिएको जनाएको छ ।
प्राकृतिक प्रकोप लगायतका विपद् भइरहने र जनधनको क्षति हुने गरेका कारण स्थानीय स्तरमै जनशक्ति तयार गर्ने उद्देश्यले ऐनमा भएको व्यवस्था अनुसार दल गठन तथा कार्यान्वयन सुरु गरिएको जनाइएको छ । साथै दलमा आवद्ध विद्यार्थीलाई एल्मुनाई एशोसिएशन मार्फत् सक्रिय गराई सामाजिक कार्यमा समेत उत्प्रेरणा जगाउने अभिप्रायले दल गठन गरिएको हो ।
बनेपा नगरको नाइटिङ्गेल एकेडेमी, पनौतीको एसओएस बालग्राम र अरुणोदय माध्यमिक विद्यालय, पाँचखालको गोल्डेन फ्युचर मावि, नमोबुद्धको जनक माविमा राष्ट्रिय सेवा दल गठन गरिएको नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले जनाएको छ ।
नेपाली सेनाका अनुसार सिनियर डिभिजनमा कक्षा ११ र १२ तथा जुनियर डिभिजनमा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी भएका छन् । उहाँले उउटा विद्यालयमा १८ छात्रा र १८ छात्रको डिभिजन तयार गरिएको बताउनुभयो । विशेषगरी स्थानीयस्तरमा हुने विभिन्न खालका विपद्मा खोज तथा उद्धारका लागि राष्ट्रिय सेवा दलमा विद्यार्थीलाई आबद्ध गराएको जनाइएको छ ।
सेनाले नै पोशाक लगायतका आवश्यक सामग्री उपलब्ध गराई तीन महिने तालिम दिने योजना बनाएको गणले जानकारी दिएको छ । तालिम पश्चातको क्लोज क्याम्पबाट उत्कृष्ट भएकालाई सेनाले विभिन्न देशमा अध्ययन भ्रमणका लागि पठाउने गरेको छ । – रासस