शिक्षामन्त्री कक्षाकोठामा प्रवेश गर्नुभयो

समाचार

पोखरा महानगरपालिका– १२ स्थित शीतलादेवी सामुदायिक विद्यालयमा २६ गते आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गर्नुभयो । मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन । मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षाकोठामा प्रवेश गर्नुभयो । माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई अध्यापन गराउँदै हुनुहुन्थ्यो शिक्षिका प्रिति ढकाल । नौलो व्यक्ति कक्षामा प्रवेश गरे लगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे । विद्यार्थी आफ्नो सिटमा बसेपछि शिक्षामन्त्री पौडेलले विद्यालयमा पढाइका विषयमा विद्यार्थीलाई सोध्नुभयो । गृहकार्य गरे/नगरेका बारेमा जिज्ञासा राख्नुभयो । सबैले नियमित गृहकार्य गर्ने गरेको, शिक्षक कक्षा समयमा सधै समयमै उपस्थित हुने गरेको मन्त्री पौडेललाई बताउनुभयो । मन्त्री पौडेल विद्यार्थीलाई राम्रोसँग पढ्न र गुरुले मानेर अनुसाशित हुन आग्रह गर्दै केही समयमै कक्षाकोठाबाट बाहिरिनुभयो । राम्रो अध्ययन गरेर देशको ठूलो मान्छे बन्न उहाँले विद्यार्थीलाई भन्नुभयो ।

शिक्षा क्षेत्रको प्रमुख नियमनकारी निकाय र सामुदायिक शिक्षा सुधार्ने प्रमुख जिम्मेवारी रहेको शिक्षा मन्त्रालयका मन्त्री पौडेलले आकस्मिक विद्यालय निरीक्षण गर्दा विद्यालयका कसैलाई पूर्वजानकारी दिनुभएन । मन्त्री पौडेल एक्कासी विद्यालय निरीक्षणमा निस्किँदा र पछि मात्र मन्त्री आएको जानकारी पाएपछि शिक्षक विद्यार्थीले अचम्म माने ।

शिक्षिका ढकालले भन्नुभयो, शिक्षामन्त्री विद्यालय आउनेबारेमा स्कुलमा कसैलाई पनि जानकारी दिएन । अन्य बेला पनि भिजिटर आउनुहुन्थ्यो, त्यही भएर कोही आउनुभयो होला भन्ने सुरुमा ठानेको थिएँ । शिक्षामन्त्री नै कक्षा कोठामा पाएपछि त अचम्म भयौँ । शिक्षामन्त्री पौडेलले विद्यालयमा जिम्मेवारी पाएका शिक्षक तथा प्रधानाध्यापकबाट ठीक ढङ्गले जिम्मेवारी निर्वाह भए नभएको बुझ्ने र शैक्षिक समस्याका बारेमा सरोकार भएकासँग जानकारी लिनका लागि आकस्मिक विद्यालय निरीक्षण गरिएको बताउनुभयो ।

राजधानी काठमाडौँका केही विद्यालयमा पनि यसअघि यस्तै प्रकृतिको आकस्मिक निरीक्षण गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “शिक्षक कक्षा कोठामा छन् कि छैनन् ? विद्यार्थीले पढेका छन् कि के छन् भनेर आकस्मिक निरीक्षण सुरु गरेका छौँ । यसबाट कमजोरी फेला परेका खण्डमा सम्बन्धित व्यक्ति वा संस्थालाई सुधारका लागि आग्रह गर्ने गरिएको छ ।”

मन्त्री पौडेलले सामुदायिक विद्यालयमध्ये राम्रो पढाई भएका र कमजोर पढाई भएका गरी दुई श्रेणीमा विभाजन गरी निरीक्षण गरेर शिक्षण, विधि, प्रशासनिक अवस्थालगायत बारेमा अध्ययन गर्ने गरिएको जानकारी दिनुभयो । मन्त्री पौडेलले शिक्षक विद्यार्थी अनुपात, भौतिक पूर्वाधार र शैक्षिक वातावरणका बारेमा जानकारी लिनुभएको थियो । विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले शिक्षामन्त्री नै आएर निरीक्षण गर्दा आफूहरू गौरवान्वित भएको बताउनुभयो । – रासस

Leave a Reply

Your email address will not be published.