बालबालिकालाई कपडा वितरण

समाचार

बेनीघाट रोराङ गाउँपालिकाले जाडोबाट कष्ट भोगिरहेका एक हजार ५०० भन्दा बढी विद्यार्थीलाई कपडा वितरण गरेको छ । कष्टपूर्ण जीवन बाँचिरहेका बालबालिकालाई गाउँपालिकाका अध्यक्षले ट्र्याकसुट,  जुत्ता र मोजा उपलब्ध गराउनु भएको हो । प्रजा आधारभूत विद्यालय सिमथलीमा गाउँपालिकाका अध्यक्षले न्यानो कपडा वितरण गर्नुभएको थियो ।

कसैको घरमा पनि वर्षभर खानपुग्ने अन्न नहुने सिमथली र आसपास क्षेत्रका चेपाङ समुदाय गरिबीसँग सङ्घर्ष गर्दै आइरहेका छन् । गाउँपालिकाले अध्यक्षसँग बालबालिकाको न्यानो माया कार्यक्रम अन्तर्गत रु २० लाख खर्चेर एक हजार ५०३ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले बताउनुभयो ।

सामाजिक विकास शाखाको निर्णय बमोजिम सीमान्तकृत चेपाङ लगायत गरिब दलित बालबालिका अध्यन गर्ने सो विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई जाडोबाट बचाउन कपडा वितरण गरिएको शिक्षा शाखाका बोधराज पाठकले बताउनुभयो । गाउँपालिकामा रहेका ६९ विद्यालयमध्ये २६ विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरिने जनाइएको छ । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *