बैतडी, १ पुस (रासस) / जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्दैछ । निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलका अनुसार सो कार्यक्रम मङ्सिर २७ गते जिल्लाको पुर्चौडी नगरपालिकामा रहेको डिलेश्वरी माविबाट सुरु भएको र प्रत्येक स्थानीय तहको एक विद्यालय छनोट गरेर अन्य सबै पालिकामा पनि सो कार्यक्रम सञ्चालन हुनेछ ।
मावि स्तरका विद्यालय कार्यक्रम सञ्चालन भइरहेको तथा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई मतदाता शिक्षा दिइरहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावमा मत बदर नहोस् भन्नका लागि र विद्यार्थी मार्फत् अभिभावकलाई मतदान गर्ने सही तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । एक विद्यालयका कम्तिमा १५० विद्यार्थी सहभागी गर्ने योजना रहेको छ ।
निर्वाचन आयोगको वार्षिक कार्यक्रम अनुसार नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो । गत वर्ष जिल्लाका आठ विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको थियो ।