सुदूरपश्चिम (रासस)/ सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशतले पहिलो मात्राको खोप पाइसकेका छन् ।
अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो उमेर समूहभन्दा माथिको जनसङ्ख्या झण्डै १९ लाख छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अहिले प्रदेशमा खोपको उपलब्धता पर्याप्त रहेकोले खोप दिने कार्य नियमित रुपमा चलिरहेको बताउनुभयो । प्रदेशका १२ देखि १७ समूहका बालबालिकालाई फाइजर र मोडना खोप दिने तयारी पनि गरिएको छ ।
यसै महिनाबाट कैलाली र डडेलधुराका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप र अन्य सात जिल्लाका बालबालिकालाई मोडना खोप दिने तयारी छ । पछिल्लो महिनामा विभिन्न राजनीतिक दलबाट भीड बढ्ने गरी भइरहेका गतिविधिबाट कोरोना सङ्क्रमणको जोखिम बढेको मन्त्रालयका अधिकारीको भनाइ छ ।