२२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु

राष्ट्रिय समाचार

कैलाली, २०७८ पुस २ (रासस)/ टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । सरकारले टीकापुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ । नगरपालिकाले अबको पाँच वर्षमा टीकापुरलाई क्षयरोगमुक्त बनाउने गरी काम थालेको छ ।

कैलाली क्षयरोगको उच्च जोखिममा रहेको जिल्लामा पर्छ । स्थानीय साधन र स्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि पहिलो चरणमा कैलाली जिल्लाको टीकापुर, कञ्चनपुरको कृष्णपुर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका छनोट भएका छन् । टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले क्षयरोग मुक्त गर्न चुनौती रहेको बताउनु भयो । तर पाँच वर्षीय योजना बनाएर काम गर्न थालेकाले सफल हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

क्षयरोग मुक्त पालिका बनाउन प्रतिवर्ष प्रति रु १० लाखमा १ भन्दा कम बिरामीको सङ्ख्या भएमा अन्त्य भएको मानिने छ । क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगरप्रमुखको संयोजकत्वमा नगर उपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समेत समिति गठन गरी काम सुरु गरिएको छ । कार्यक्रम अन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शङ्का लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठन लगायतका कार्य थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *