कर्णाली, २०७८ पुस ३/ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष बिमला केसीले प्रदेश सरकारले बालबालिकाको हितमा दीगो नीति ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
साझा घर नेपाल कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा आश्रित बालबालिकाको अवस्था अवलोकन गर्दै अध्यक्ष केसीले अभिभावकविहिन बालबालिकाको अभिभावक सरकार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । जनताको नजिकको प्रदेश सरकारले बालबालिकाको संरक्षणका लागि दीगो तथा प्रभावकारी नीति ल्याउनु पर्नेमा जोड दिनुभयो ।
कर्णाली प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहनुभएकी अध्यक्ष केसीले सडक तथा अभिभावकविहिन बालबालिकाको संरक्षण तथा व्यवस्थापनका लागि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको सहकार्य पनि आवश्यक रहेको बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले साझा घर नेपालले आश्रय दिएका ९६ बालबालिकालाई तत्काल पुस्तक, स्वास्थ्य लगायतका सहयोग दिन सकिने बताउनुभयो । – रासस