रमेश विकलको स्मृतिमा स्रष्टाहरू पुरस्कृत हुनुभयो

राष्ट्रिय समाचार

काठमाडौं, २०७८ पुस ०३/ विशिष्ट आख्यानकार रमेश विकलको १४ औं स्मृति सभाका अवसरमा आज राजधानीमा स्रष्टाहरूलाई  पुरस्कृत गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले साहित्य सहित विविध क्षेत्रमा योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गर्नु भएको हो ।

जसअनुसार ५० हजार रुपैया राशिको  विकल वाङ्मय पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर चुडामणि बन्धुलाई प्रदान गरिएको छ । १५ हजार रुपैया राशिको विकल समाजसेवा पुरस्कार डाक्टर रविन्द्र समीरलाई प्रदान गरियो ।  विकल सृजना पुरस्कार विमल निभा, विकल-सुशीला सङ्घर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान, विकल कलासङ्गीत पुरस्कार पूर्ण हेजुलाई र विकल बालसाहित्य पुरस्कार केटाकेटी अनलाइनका सम्पादक कार्तिकेय घिमिरेलाईप्रदान गरियो । यी सबै पुरस्कारको राशि नगद १० हजार रुपैया रहेको छ ।

प्रतिष्ठानले विकलका रचनामा आधारित रही ‘बाल साहित्यमा नैतिक चेतना’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधी गर्ने देवकी आचार्यलाई ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य (एमफिल) तहमा ‘विकलका कथामा अनुभूतिको संरचना’ शीर्षकका शोधकर्ता योगेश काफ्ले र ‘विकलका कथामा समाख्यानात्मक वाच्यत्व’ शीर्षककी शोधकर्ता शान्ति न्यौपाने (रिसाल) लाई पनि ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गरिएको छ ।

     सोही अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रिसालसहित वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष के के कर्माचार्य, उपाध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेल, महासचिव विजय चालिसे, एमालेका नेता रामेश्वर फुयाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, पुरस्कृत स्रष्टा प्राध्यापक डाक्टर चुडामणि बन्धु लगायतले विकलको बहुआयामीक व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । साथै उहाँहरूले विकलको तस्वीरमा माल्र्यापण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

यसैबीच आजै सम्पन्न प्रतिष्ठानको १५ औं साधारण सभाले वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको अध्यक्षतामा रहेको अघिल्लो कार्य समितिलाई नै आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *