आठ फिटको केराको घरी

राष्ट्रिय समाचार

महोत्तरी ३ पुस (रासस)/ केराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला तर महोत्तरीको बर्दिबास नगरपालिका– १ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी आठ फिट लामो छ । केराको घरीमा झण्डै ३० भन्दा बढी हाता देखिएका छन् ।

विसं २०७६को हिउँदमा बर्दिबास महोत्सवमा किसानले प्रदर्शनीमा ल्याएका स्थानीय मर्चमान जातको यो केराको गुबो रोपिएको हो । प्राय केरा एक वर्षभित्रै पसाउने, घरी लाग्ने भए पनि यो चाँही दुई वर्षमा पसाएको किसान न्यौपानेको भनाइ छ । घरीको माथिका हाता छुट्टिँदै गए पनि तलसम्मका हाता छुट्टिने र छिप्पिने क्रममा छ । बोट सामान्य मोटाइको भए पनि घरी भने निकै लामो भएपछि अहिले यो केरा हेर्न दिनहुँ मानिसहरुको घुइँचो लाग्ने गरेको छ । कृषि प्राविधिकले भने यो घरी निकै लामो भए पनि माथिका १०/१२ हातामा मात्र राम्रो कोसा हुने र तलका हाताका कोसा झिना हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *