काठमाडौँ २०७८ पुस ४/ काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम तीन दशमलव चार डिग्री थियो । तापक्रम घटेसँगै उपत्यका सहित देशभर बढी चिसो महसुस गरिएको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ । मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ ।
पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।