नेदरल्याण्डमा संक्रमणको जोखिम कम गर्न क्रिसमस लक्षित कडा लकडाउनको घोषणा/अति आवश्यक बाहेकका पसल, बार, जिम, सैलुन र सार्वजनिक स्थल पूर्ण रुपमा बन्द ।
नेदरल्याण्डमा ओमिक्रोन भेरियन्टको जोखिम क्रिसमसको समयमा अझ बढ्न सक्ने देखिएपछि कडा लकडाउनको घोषणा गरिएको छ । अति आवश्यक वस्तु बाहेकका पसल, बार, जिम, सैलुन लगायतका सार्वजनिक स्थलहरु आगामी जनवरीको मध्य सम्मका लागि पूर्ण रुपमा बन्द गरिएको छ । यस अवधिमा व्यक्तिगत घरमा समेत दुई जनाभन्दा बढी पाहुना राख्न मनाही गरिएको छ । बिदा मनाउने स्थलमा ४ जनाभन्दा बढी बस्न नपाउने व्यवस्था गरिएको छ ।
नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटीले सरकारले तोकेका मापदण्ड अपरिहार्य पालना गर्नै पर्ने बताउनु भयो । नेदरल्याण्डले आजैदेखि लागू हुनेगरी कडा लकडाउनको घोषणा गरेको हो । लकडाउनको समयमा मानिसहरुलाई सकेसम्म घरभित्रै बस्न भनिएको छ । क्रिसमसलाई लक्षित गरी डिसेम्बर २४ देखि २६ सम्म र नयाँ नयाँ वर्षको अघिल्लो दिन र नयाँ वर्षको दिन भने ४ जनासम्म पाहुनालाई व्यक्तिगत घरमा राख्न अनुमति दिइएको छ । धेरैपटक म्युटेसन भएर बनेको नयाँ भेरियन्टका कारण युरोपभरी नै कोभिड विरुद्धका प्रतिबन्धात्मक व्यवस्था कडा पारिएको छ ।