ललितपुर २०७८ पुस ४/ गोदावरी नगरपालिका– ४ बडीखेलको तपेश्वर क्षेत्रमा ५५ फिट अग्लो शिवको मूर्ति स्थापना गरिने भएको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीको सहभागितामा बडीखेलमा भएको छलफलमा सो मूर्ति स्थापना गर्ने निर्णय गरेको हो ।
बडीखेललाई धार्मिक तथा पर्यटकीय दृष्टिकोणले विकास गरिँदै लैजाने योजनानुरुप महादेवको मूर्ति स्थापना गर्न लागिएको वडाध्यक्ष मुकुन्दबहादुर पहरीले बताउनुभयो । यस कामलाई नगरपालिकाभरिकै ठूलो राष्ट्रिय गौरवको योजनाका रुपमा लैजान लागिएको जानकारी दिइयो । गोदावरीका वडामध्ये पिछडिएका क्षेत्रका रुपमा बडीखेल र यहाँका पहरी समुदाय रहेका हुँदा उनीहरुको जीवनस्थर उकास्नका लागि यसले निकै सहयोग गर्ने विश्वास लिइएको छ । सो स्थानमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन २०७४ सालमा स्थानीय पहलमा तपेश्वर महादेव विकास तथा संरक्षण समिति गठन गरिएको थियो । हाल यस मन्दिर क्षेत्रमा ट्रष्ट तथा सभाहलका साथै उद्यान र शौचालय समेत निर्माण भइसकेको उहाँको भनाइ छ । आउँदो आर्थिक वर्षमा रु ५६ करोडभित्र यो राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने उहाँको भनाई छ । हालसम्म लगभग रु तीन करोडको काम सम्पन्न भइसकेको छ । तर यसमा एक करोड ९० लाखको भुक्तानी पाएको पनि वडाअध्यक्षको भनाई छ । यसमा ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवालले अपाङ्गमैत्री शौचालय निर्माणका लागि रु १० लाख, नगरपालिका तथा वडाले रु ८० लाख र यहाँका प्रदेशसभा सदस्य लालकुमारी पुनले बाँकी रु एक करोड सहयोग गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
समितिका अध्यक्ष गौरव पहरीले सहरी विकास मन्त्रालय मार्फत् पाएको २० लाखको काम हाल तपेश्वर क्षेत्रमा भइरहेको बताउँदै अब प्रदेश मार्फत् आउने एक करोड र नगरपालिका र वडा कार्यालयबाट आउने रु ६० लाखको काम गर्ने बताउनुभयो । समितिका सचिव सन्तकुमार नगरकोटीले फाइबर ग्लासको सो मूर्ति ल्याउनका लागि नेपाल सरकारबाट रु पाँच करोड सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।