नवलपरासी (पीठौली), ५ पुस (रासस)/ गिद्धलाई प्रकृतिको कुचिकार मानिन्छ । गिद्धको संरक्षण गर्ने उद्देश्यले नवलपरासीको पिठौलीमा सन् २००६ मा जटायु रेष्टुरेण्ट स्थापना गरिएको थियो । यही गिद्ध रेस्टुरेन्टलाई पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न लागिएको छ । गिद्धका साथै चराहरूको अध्ययन एवं पर्यटनमा रुची राख्नेका लागि यो स्थान पुग्नै पर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियान अन्तर्गत् नेपालमा नै पहिलोपटक पिठौलीमा गिद्ध रेस्टुरेन्ट स्थापना गरिएको हो ।
जटायु रेष्टुरेण्ट विश्वकै पहिलो गिद्ध रेस्टुरेन्ट हो । लोपोन्मुख गिद्धलाई विषादीरहित भोजन उपलब्ध गराइ संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएको यो रेष्टुरेण्ट चरा पर्यटनका साथै पर्या पर्यटनको रुचि राख्नेका लागि पनि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको संरक्षणकर्मी एवं नवलपरासी जटायु रेष्टुरेण्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले जानकारी दिनुभयो । रेस्टुरेण्टको स्थापनासँगै गिद्धको सङ्ख्या बढेको जानकारी दिँदै उहाँले देश विदेशका विभिन्न स्थानबाट गिद्धका क्रियाकलाप अवलोकन एवं अनुसन्धान गर्न पर्यटक आउन थालेको बताउनुभयो । विगत दुई दशकयता गिद्ध घट्ने क्रम बढिरहेको अनुसन्धानले देखाएको छ ।
गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको संरक्षणकर्मी बताउँछन् । पछिल्लो समयमा गाईवस्तु पाल्ने क्रम पनि अत्याधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा उनीहरूको आहारामा समस्या थपिने गरेको छ । अध्ययन अनुसार डाइक्लोफेनेकको प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मृगौलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेको छ ।
औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई विसं २०६३ जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाइ त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ । विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका पाइन्छन् । नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् ।