मान्म, २०७८ पुस ७ (रासस)/ कालिकोट जिल्लाका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । रास्कोट, खाडाचक्र र तीलागुफा नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी, पचालझरना र नरहरिनाथ गाउँपालिका सडक सञ्जालसँग जोडिएका हुन् ।
नौ स्थानीय तहका ८२ वडा मध्ये प्रायःजसोमा सडक पुगेको छ । रास्कोट नगरपालिकाका नौवटै वडामा सडक पुगेको उपप्रमुख मिमसरा बम शाहीले बताउनुभयो । मुल सडक कालोपत्रे हुँदैछ भने अन्य वडामा कालोपत्रको तयारी भइरहेको छ । खाडाचक्र नगरपालिकाका ११ वटै वडामा सडक पुगेको उपप्रमुख विजया विष्टले जानकारी दिनुभयो ।
स्थानीय सरकार बनेपछि सबै वडामा सडक पुर्याइएको उहाँको भनाइ छ । सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ । यस्तै तिलागुफा नगरपालिकाका ११ वटै वडामा पनि सडक पुगेको छ ।
सान्त्री त्रिवेणी गाउँपालिका, पलाँता गाउँपालिकाका र पचालझरना गाउँपालिकाका सबै वडा सडक सञ्जालले जोडिएका छन् । नरहरिनाथ गाउँपालिकाका नौमध्ये पाँच वडामा सडक पुगेको छ । चार वडामा यसै आर्थिक वर्षभित्र सडक विस्तार गरिने अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो ।