काठमाडौँ २०७८ पुस ७ गते (रासस)/ ग्रामीण क्षेत्रका कम आए भएका परिवारका बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिम रहेको एक अध्ययनले देखाएको छ । अध्ययनले बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थामा समेत असर पारेको उल्लेख गरेको छ । कोभिड–१९ महामारीले नेपालका बालबालिकामा परेको असर बारे बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था युनिसेफले गरेको एक सर्वेक्षणमा उक्त तथ्य फेला परेको हो ।
अध्ययनले उनीहरुको विकास र सिकाइमा रहेको असमानतालाई झन् जटिल बनाएको औँल्याएको छ । हालै सार्वजनिक अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षास्तर भएका हेरचाहकर्ताको रेखदेखमा रहेका बालबालिका तथा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी नभएका बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिममा छन् ।’ प्राप्त विवरण अनुसार हरेक पाँचमध्ये एक बालबालिका विकासका लयभन्दा बाहिर छन् ।
प्रारम्भिक बाल विकास सूचकाङ्क सर्वेक्षण दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकामा गएको अगस्टमा गरिएको थियो । बालबालिकाको विकासको आवश्यकता र स्थिति बुझ्नका लागि राष्ट्रव्यापीरूपमा यो सर्वेक्षण गरिएको थियो । बालबालिका भएका दुई हजार ८५३ घरधुरीमा सर्वेक्षण भएको जनाइएको छ । फोनमा आधारित उक्त सर्वेक्षणले महामारीले निजी कार्यक्रममा भाग लिनेको तुलनामा सरकारी प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिका विकासको लयभन्दा बाहिर हुने अधिक जोखिममा रहेको उल्लेख छ ।
हेरचाहकर्तासँग किताब पढ्ने, कथा सुनाउने, गीत गाउने, घुम्न जाने, वस्तुको नाम भन्ने, गन्ने, वा चित्र कोर्ने जस्ता बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलाप उनीहरूको विकास र सिकाइको लागि महत्वपूर्ण भएको पाइएको छ । यद्यपि,पूर्व–महामारी अवस्थाको तुलनामा अभिभावकको सङ्लग्नतामा कमी आएको देखाएको छ । गएको अगस्टमा निषेधाज्ञा खुकुलो भएको तर मानिसको जीवन प्रभावित रहेको समयमा ३१ प्रतिशत बालबालिका घरका प्रारम्भिक क्रियाकलापमा सङ्लग्न भएका थिए ।
सन् २०१९ मा ७३ प्रतिशत बालबालिका त्यस्ता क्रियाकलापमा सहभागी भएको पाइएको छ । अक्टोबर महिनामा गरिएको थप सर्वेक्षणअनुसार कडा निषेधाज्ञाबाट सामान्य अवस्थामा फर्केसँगै आमाको सङ्लग्नतामा सुधार भएको तर सामाजिक मानक कायम राख्दै बुबाको अभिभावकत्वको सङ्लग्नता भने अत्यन्त न्यून अर्थात् छ प्रतिशत मात्र देखिएको छ । सर्वेक्षण गरिएकामध्ये आधा जति बालबालिका पूर्वप्राथमिक तहमा भर्ना भएको पाइएको छ ।
यद्यपि, विद्यालय बन्द हुँदा ३४ प्रतिशत बालबालिका वैकल्पिक विधिको सिकाइमा सङ्लग्न भएका थिएनन् । धेरै जसो बालबालिकाको घरमै ट्युसनमा पहुँच थियो । अनलाइन कक्षा, मोबाइल फोनबाट हुने शिक्षण, रेडियो, टिभी, दूर शिक्षणजस्ता सरकारको आपतकालीन कार्य योजनाले निर्दिष्ट गरेका वैकल्पिक सिकाइ माध्यम कम प्रयोग भएका पाइएको उल्लेख छ । रेडियो, टिभी र टेलिफोनमा आधारित शिक्षण सिकाइजस्ता न्यून–प्रविधिसहितका समान पनि कम मात्रै प्रयोग भएको पाइएको छ ।