नवलपरासी, २०७८ पुस ६ गते (रासस)/ विद्यार्थीमा पढ्ने बानीको विकासका लागि कावासोती नगरपालिकाले पठन अभियान सुरु गरेको छ । कावासोती नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १२ हजार विद्यार्थीको हातहातमा विद्यालय पाठ्यक्रम भन्दा बाहिरका कथाका किताब पुर्याउने र उनीहरूमा पठन संस्कृतिको विकास गराउन अभियान सञ्चालन गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।
चित्रकथाका पुस्तक हरेक विद्यालयका विद्यार्थीसम्म पुर्याउने र उनीहरूमा पढ्ने बानीको विकास गर्न अभियान सुरु गरेको उहाँको भनाई छ । कक्षा १ देखि ८ र ८ देखि १२ सम्मका विद्यार्थीलाई दुई प्रकारका कथाका किताब प्रदान गरिने प्रमुख घर्तीले बताउनुभयो ।
कावासोती नगरपालिकाभित्र ४० वटा सामुदायिक विद्यालय रहेका छन् । ती सबै सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पुस्तक पुर्याइ पठन संस्कृतिको विकास गर्ने अभियानको मुख्य लक्ष्य रहेको छ । पठन संस्कृतिको विकासका लागि अभियानमा शिक्षक र अभिभावकलाई समेत जोड्ने गरी योजना बनेको बताइएको छ ।
अभियानले विद्यार्थीमा फरक क्षमताको विकास गराउने र सिर्जनशील बनाउने अपेक्षा गरिएको छ । पछिल्लो समय मोबाइलमा फेसबुक, टिकटक हेर्ने र प्रयोग गर्ने क्रम निकै बढेको छ । त्यसतर्फ विद्यार्थीले बढी चासो दिने गरेकाले पठन संस्कृति हराउँदै जान थालेकोमा अभियान फलदायी हुने अपेक्षा छ ।