१३ वर्षको अवधिमा १८ वटा मात्रै बच्चा हुर्किए

राष्ट्रिय समाचार

चितवन, ७ पुस (रासस)/ चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा १३ वर्षको अवधिमा १८ वटा मात्रै बच्चा हुर्किएका छन् । पछिल्ला दुई वर्ष अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेको छैन । कृत्रिम रुपमा गरिएको प्रजननभन्दा प्राकृतिक रुपमा प्रभावकारी देखिएपछि प्रकृतिमा नै गिद्धको संरक्षणमा जोड दिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सन् २००८ बाट कसरामा गिद्ध प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्न थालिएको हो । त्यसयता सन् २०१४ बाट प्रजनन केन्द्रमा गिद्धले अण्डा पार्न सुरु गरेको हो ।

पहिलो वर्ष पाँच अण्डाबाट एउटा मात्रै बच्चा कोरलिएको थियो । उहाँका अनुसार सन् २०१५ मा सात अण्डाबाट एउटा पनि बच्चा कोरिलिएन । यस्तै सन् २०१६ मा १५ वटा अण्डाबाट नौ वटा बच्चा कोरलिएको भए पनि एउटा मरेको थियो । सन् २०१७ मा २१ अण्डाबाट ६ वटा बच्चा कोरलिएको थियो ।

सन् २०१८ मा २० वटा अण्डाबाट दुई वटा बच्चा कोरलिएकोमा त्यसयता बच्चा कोरल्न सकेको छैन । सन् २०१९ मा १९ वटा र २० मा १४ अण्डा पारे पनि बच्चा कोरल्न सफल नभएको उहाँले जानकारी दिनुभयो । यसवर्ष हालसम्म १२ वटा अण्डा पारेको छ । ती अण्डा कोरल्ने समय बाँकी छ । यहाँ हुर्काइएका ३९ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ । १० वटा छाड्ने तयारी गरिएको छ ।

सन् २०१७ बाट प्रकृतिमा गिद्ध छोड्न सुरु गरिएको हो । पहिलो वर्ष ६ वटा गिद्ध छाडिएको थियो । सन् २०१८ मा १२, सन् २०१९ मा १३ र यस वर्ष ८ वटा गिद्ध प्रकृतिमा छाडिएको छ । थप १० वटा गिद्ध प्रकृतिमा छाड्नका लागि जटायु रेस्टुराँमा लगिएको छ । प्रकृतिमा छाड्नका लागि नवलपरासीको जटायु रेस्टुराँमा जालीमा लगेर राख्ने गरिन्छ । प्रकृतिमा रहेका गिद्धसँग घुलमिल गराएर छोड्ने गरिन्छ । जटायु रेस्टराँमा प्रकृतिमा रहेका गिद्धसँगसँगै खाने र उनीहरुको आनीबानी हेर्न मिल्ने गरी राखिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *