विज्ञापनमा महिलाको फोटो राख्न नपाइने

अन्तर्राष्टिय समाचार

अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबान समूहले काबुल शहरका पसलहरूका साइनबोर्डमा महिलाको फोटो राख्न नपाइने नियम बनाएको छ ।  तालिबानको सो निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् ।

काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको कुरा टोलो न्युजले काबुल नगरपालिकाका प्रवक्ता नेमतुल्लाह बाराक्जाईलाई उद्धृत गरी लेखेको छ । सरकारको निर्णयको आधारमा इस्लामी नियमको विरुद्धमा रहेका फोटोहरू विज्ञापन पाटीबाट हटाइने बाराक्जाईले बताउनुभएको समाचारमा उल्लेख गरिएको छ ।

काबुलमा सौन्दर्य सैलूनका मालिकहरूले इस्लामिक इमिरेटको निर्णयको आलोचना गरे र सरकारलाई उनीहरूको व्यवसायमा प्रतिबन्ध नलगाउन पनि आग्रह गरेका टोलो न्यूजले जनाएको छ । सात वर्षदेखि ब्यूटी सैलुनमा काम गरी आफ्नो १० सदस्यीय परिवारलाई आर्थिक सहयोग गरिरहेको र सरकारको निर्णयले आफूलाई आर्थिक तथा व्यवसायिक सङ्कट पर्ने काबुलकी सौन्दर्य व्यवसायी शायस्ता सैफीले बताउनुभयो ।

महिला अधिकारकर्मी परवानाले सरकारको निर्णयको विरोध गर्दै प्रतिप्रश्न गर्नुभयो, महिलाको फोटो हटाई सरकारलाई के फाइदा हुन्छ ? यो महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने कामबाहेक केही होइन । अन्तरराष्ट्रिय संगठनहरूले तालिबानलाई महिलाहरूको अधिकारको उपेक्षा नगर्न र समाजबाट महिलालाई अलग नबनाउन बारम्बार आह्वान गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *