ल्याटिन अमेरिकी मुलुक इक्वेडरले कोभिड-१९ विरुद्धको खोप अधिकांश नागरिकलाई अनिवार्य गरेको छ । पछिल्लो समय बढ्दो संक्रमण दर र ओमिक्रोन लगायतका नयाँ नयाँ भेरियन्टको प्रभाव बढेसँगै खोप अनिवार्य गरिएको हो । इक्वेडरको स्वास्थ्य मन्त्रालयले आफूहरुसँग सम्पूर्ण जनसंख्यालाई पुग्ने गरी खोप पर्याप्त मात्रामा उपलब्ध भएको जनाएको छ ।
पाँच वर्ष माथिका सबै नागरिकलाई खोप अनिवार्य गरिएको छ । स्वास्थ्यका कारण खोप लगाउन नमिल्ने चिकित्सकको सिफारिस बाहेक सबैलाई खोप लगाउन निर्देशन दिइएको छ । इक्वेडरमा हालसम्म ७७ दशमलब २ प्रतिशत खोप लगाउन योग्य उमेरका मानिसलाई कोरोना विरुद्धका दुबै डोज खोप लगाइएको छ । यसै गरी ९ लाखभन्दा बढीले बोस्टर डोज समेत लगाइसकेका छन् । खोपले भाइरसबाट सुरक्षा प्रदान गर्नुका साथै संक्रमण भइहालेमा पनि गम्भीर विरामी बनाउने र अस्पताल भर्ना हुने र मृत्यु नै गराउने दर घटाएको छ ।
अस्ट्रिया र जर्मनीले पनि खोप लगाउन योग्य उमेरका सबैलाई कोरोना विरुद्धको खोप अनिवार्य गर्ने तयारी गरिरहेका छन् ।