स्पेनको क्याटालोनियामा कोरोनाको संक्रमण बढेपछि रात्रिकालीन कर्फ्यु लगायतका कडा प्रतिबन्ध लगाएको विरोधमा वार्सिलोनामा व्यापक प्रदर्शन भएको छ । क्रिसमसको विदाका समयमा प्रतिबन्ध लगाइएको भन्दै हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिएका हुन् ।
कोरोनाको ओमिक्रोन भेरियन्ट तीब्र गतिमा फैलिरहेकाले क्रिसमसको समयमा हुने भिडभाडले अझ बढी संक्रमण फैलिने डरले प्रतिबन्ध लगाइएको हो । क्रिसमस इभदेखि नै कडा प्रतिबन्ध लागू गरिएको विरोधमा विदा मनाउने तयारीमा रहेका हजारौं नागरिकहरु आन्दोलित भएका हुन् । क्याटालोनियामा प्रत्येक चार जना संक्रमित मध्ये एक जनालाई अस्पताल लैजानु पर्ने अवस्था रहेको छ ।
प्रदर्शनकारीहरुले कोरोनाको अनिवार्य खोप र स्यानिटरी पासपोर्टका विषयमा विरोध जनाएका छन् । स्पेनले जारी गरेको नयाँ प्रतिबन्ध आगामी जनवरी ७ सम्म लागू हुनेछ । रात्रीकाली कर्फ्यु मध्य राति १ बजेदेखि विहान ६ बजेसम्म लगाइएको छ ।
यसैगरी १० जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने व्यवस्था गरिएको छ । यसै गरी नाइटक्लव पूर्ण रुपमा बन्द गरिएको छ । रेस्टुरेन्टमा पनि ५० प्रतिशत क्षमतामा संचालन गर्न भनिएको छ । जिम र सिनेमा घर ७० प्रतिशत क्षमतामा संचालन गर्न निर्देशन दिइएको छ ।।