गोकर्णेश्वरका विद्यार्थीलाई रामायण पढाई हुने

राष्ट्रिय विद्यालय समाचार समाचार

काठमाडौँ, २०७८ पुस ११/ गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयका बालबालिकालाई रामायणका विषय पढाई  हुने  भएको छ । बालबालिकाका लागि पढ्न सजिलो हुने गरी ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ । ‘छोटकरी रामायण’ पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेख्नु भएको हो । उहाँले विसं २०२२ मै पहिलो संस्करण प्रकाशित गर्नुभएको थियो । पहिलो संस्करण बजारमै सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक एवं संस्थागत विद्यालयमा निःशुल्क वितरण अभियान सुरु गर्नुभएको छ ।

जगडोल सामुदायिक वन क्षेत्रमा शनिबार आयोजना गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा प्रकाशक थापाले नगरपालिकाको वडा नं ४ का विद्यालयका लागि आवश्यक पुस्तक वडाध्यक्ष श्रीकुमार श्रेष्ठलाई दिनुभएको छ । हजुरबाले लेख्नुभएको पुस्तक आफूले नौ वर्षको उमेरमा पढेको उल्लेख गर्नुहुँदै प्रकाशक थापाले पुस्तकले आफूलाई अहिलेसम्म पारेको प्रभावका आधारमा माध्यमिक तहका विद्यार्थीले अध्ययन गर्ने अवसर पाउन् भनी प्रकाशन गरेर निःशुल्क वितरण गरिएको बताउनु भयो ।।

पहिलो चरणमा नगरपालिकाका सबै विद्यालयमा पाँच–पाँच प्रति पुस्तक दिएर पुस्तकालयमा राखिने छ । अध्ययन गर्न चाहने विद्यार्थीले ती पुस्तकबाट लाभ लिन सक्ने जनाइएको छ । रामायणको लामो कथाबाट बालबालिकाका लागि उपयुक्त मुख्य–मुख्य विषय समेटेर ९२ पृष्ठमा तयार पारिएको पुस्तक उपयोगी रहेको छ । बालबालिकालाई नैतिक पक्ष सिकाउन पुस्तक उपयोगी रहेको छ ।  नगरपालिकामा सामुदायिक १७ र संस्थागत ९८ गरी ११५ वटा विद्यालय छन् । नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि कोरोनाकालपछि यो पुस्तकको पढाइ नै बन्द भएको विद्यार्थीको गुनासो छ । नगरपालिकाले देशमै पहिलोपटक स्थानीय पाठ्यक्रम लागू गरेको दाबी गरेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *