पाँचथरको उच्च पहाडी क्षेत्रमा हिमपात

राष्ट्रिय समाचार

पाँचथर, ११ पुस/ भारतसँग सीमा जोडिएको पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।   केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।

प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो । पाँचथरमा पर्ने तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चारराते लगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु विन्दु चिवाभञ्ज्याङ क्षेत्र हिउँले ढाकिनुका साथै करिब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जमेको छ ।

हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ । पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीन सिमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) राखिएका छन् । बिओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको हो । जिल्लामा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनीजस्तो हिमपात हुने गरेको छ । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *