चरीकोट, दोलखा २०७८ पुस ९ (रासस)/ दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिजो दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो ।
कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक हिमपात सुरु भएको हो । हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरु भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँपर्ने मुख्य यामअनुसार सुरु भएको हिमपात केही दिनसम्म रहन सक्ने अनुमान गरिएको छ । कालिञ्चोकमा काठमाडौँ, तराई र भारतका नागरिक समेत हिउँ खेल्न कालिञ्चोक आउने गरेका छन् । यो वर्ष वर्षायाम ढिला गरी सुरु भएको र बाक्लो मात्रामा हिमपात नभएका कारण जिल्लामा अन्य वर्षको तुलनामा पर्यटक नभित्रिएको चरिकोटका व्यवसायीको भनाई छ ।
