कालीकोट, २०७८ पुस ९ (रासस)/ कालीकोटको तिलागुफा नगरपालिका–५ खल्ला गाउँलाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको भन्दै यसलाई जिल्लाकै दोस्रो बालविवाह निषेधित वडा घोषणा गरिएको हो । गाउँपालिकाको नेतृत्वमा वडा नं ५ लाई बालविवाह निषेधित घोषणा गरिएको वडाध्यक्ष टीकाराम न्यौपानेले बताउनुभयो ।
“अब बालविवाह गर्नेलाई कानूनबमोजिम सजाय हुनेछ”, उहाँले भन्नुभयो, “बालविवाह सधैँका लागि अन्त्य हुनुपर्छ ।” उहाँले योभन्दा पहिला गाउँमा बालविवाह धेरै हुने गरेको भए पनि अहिले बालविवाह अन्त्यका लागि अभियान सञ्चालन गरी बालविवाहलाई रोक्न सफल भएको बताउनुभयो ।
वडाका सबै १५० घरधुरीका परिवारले आफ्ना छोराछोरीलाई बालविवाह सामाजिक विकृति र कानूनी अपराध भएको हुँदा बालविवाह नगराउने प्रतिबद्धता जनाएको वडाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै केही दिनअघि मात्र जिल्लाको शुभकालिका गाउँपालिका–७ र ८ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको थियो । बालविवाह ९० प्रतिशतमा घटेकाले शुभकालिका दुई वडामा बालविवाह निषेधित गरिएको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले बताउनुभयो ।
नेपाल बालविवाह हुने देशमध्ये उच्च जोखिममा रहेको, नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्न राष्ट्रिय रणनीति बनाई कार्यान्वयनमा समेत ल्याएको छ ।