पोखरा, २०७८ पुस ९ (रासस)/ भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका– ७ का डाँडा फया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ ।
ठकुरी, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको सो गाउँमा २ सय ५० घरधुरी रहेको स्थानीय संयोजनकर्ता समाजसेवी जङ्गसुर शाहीले जानकारी दिनुभयो । विपन्न एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता तथा दलित समुदायलाई हिउँदको कठ्याङ्ग्रिने जाडोमा न्यानो माया सहित न्यानो कपडा लिएर कर्णालीको हुम्ला आइपुगेको फ्रिज्जी लाइट संस्थाका नेपाल प्रतिनिधि छिरिङ लामा शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार ५० जनालाई न्यानो ज्याकेट र स्लिपिङ ब्याग तथा ५० जना विद्यार्थीलाई ज्याकेट, ट्राउजर तथा स्कुल ब्याग वितरण गरिएको छ । मानवीय र सामाजिक कार्यका लागि विकट बस्ती पुग्दै र विपन्न समुदायको पहिचान गरी सहयोग गर्दै आइरहेको संस्थाले जाडोको मौसम सुरु भएपछि हुम्ला सिमिकोट आइपुगेको उहाँको भनाइ छ । संस्थाले यस वर्षमात्रै नेपालका ३० जिल्लामा यस्तो कार्यक्रम गरेको शेर्पाले बताउनुभयो ।