मार्तडी, १४ पुस (रासस)/ तीनदेखिको मौसम बदलीसँगै हिमाली र पहाडी जिल्लामा मंगलबार रातिबाट हिमपात सुरु भएको छ । हिमाली जिल्ला बाजुरामा पनि हिमपात सुरु भएको छ । हिमपातसँगै जिल्लामा जाडो बढेको हो । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन् । बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भइरहेको छ ।
हिमपातका कारण नागरिक समस्यामा परेका छन् । आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । जिल्ला सदरमुकाम मार्तडीसहित नौवटै पालिकामा हिमपात भइरहेको छ । मौसम बदली भएपछि हिमपात हुने गरेकाले सो क्षेत्रका स्थानीय बढी प्रभावित हुने गरेका छन् । यसैगरी लामो समयदेखि सुक्खा रहेपछि समस्यामा परेका किसानलाई भने हिमपात भएपछि गहुँबालीमा राहत पुगेको छ ।
हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाइएका विभिन्न बालीलाई राहत भएको कृषकले बताएका छन् । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारी लगायतका किसानलाई फाइदा पुगेको हो । जिल्लाका बडीमालिका बूढीनन्दा, दहडाँडा, बडालेखलगायतका उच्च हिमाली क्षेत्र यति बेला पुस महिनाको मध्यतिर सेताम्मे बनेका छन् ।
तीनदेखिको मौसम बदलीसँगै पानी पर्न थालेपछि यहाँका शैक्षिक संस्था बन्द भएका छन् । लगातारको मौसम बदलीले गर्दा पानी पर्न थालेका कारण चिसो बढ्दै गएकाले शैक्षिक संस्था बन्द भएका हुन् । यहाँका कतिपय शैक्षिक संस्थाले सञ्चालन गरेका परीक्षासमेत प्रभावित बनेका छन् । गए रातिदेखि हिमपात सुरु भएपछि विद्यालयमा बालबालिका आउन सक्ने अवस्था नभएकाले विद्यालय बन्द गर्नुपरेको जनाइएको छ ।