राजधानीमा केक मेला

अचम्मको जानकारी राष्ट्रिय समाचार

ललितपुर २०७८ पुस १५ (रासस)/ राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ । आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला । केक मेला (बेक फेस्ट) अर्थात् ‘बेकरी फेस्टिबल’ हामीले प्रायः प्रयोगमा ल्याउने केक अर्थात् बेकरी परिकारका बारेमा जानकारी दिन आयोजना गरिएको हो ।

ललितपुरको पुल्चोकस्थित लबिम मलमा बुधबारबाट सुरु भएको यो मेलामा केकका प्रकार र परिकार राखिएको छ । जहाँ दर्शक पुगेर एकै ठाउँबाट एक सयभन्दा बढी केकका प्रकार र परिकारको जानकारी र स्वादको आनन्द लिने गरिरहेका छन् । अनि केकका पारखीहरुका लागि यो अवसर जुटाइदिएको छ बे्रकर्स हब नेपालले । केक नेपालमा पनि प्रायः जन्मदिन, वैवाहिक वार्षिकोत्सव, कुनै संस्थाको वार्षिकोत्सव अथवा भनौँ कुनै नयाँ र शुभकार्यको थालनीका लागि प्रयोग गर्ने गरिन्छ ।

पछिल्ला वर्षहरुमा नेपालमा केक काट्ने संस्कार नै बसेको छ तर यसरी नेपालीको संस्कार बनिसकेको केक के कसरी बन्छन् र ती कति प्रकारका र कस्ता हुन्छन् भन्नेबारेको जानकारी भने थोरै मात्र मानिसलाई होला । त्यसैले यही विषयमा जानकारी दिन र विभिन्न प्रकारका केकको स्वाद चखाउने उद्देश्यले ‘बेक फेष्ट’ को आयोजना गरिएको बेकर्स हबकी संस्थापक दीपा भुसाल बताउनुहुन्छ । यसअघि विभिन्न प्रकारका खाद्यवस्तुको मेला (फुड फेस्टिबल) नेपालमा हुने गरेकामा केक तथा बेकरीका परिकारका बारेमा भने नेपालमा पहिलोपटक यो मेलाको आयोजना गरिएको हो । मेला शुक्रबारसम्म सञ्चालन हुनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *