कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको परीक्षण गर्न अफगानिस्तानमा किटको अभाव भएको छ । किट नहुँदा पर्याप्त परीक्षण गर्न नपाइएको भन्दै अफगानिस्तानले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)सँग किट माग गरेको हो । तालिबान नेतृत्वको सरकारले तीव्र रुपमा फैलिएको ओमिक्रोनको परीक्षणका लागि किट माग गरेको अधिकारीहरुले जनाएका छन् । इरान, पाकिस्तान लगायतका छिमेकी मुलुकहरुमा ओमिक्रोनको प्रभाव धेरै देखिएकाले अफगानिस्तानमा पनि सतर्कता बढाउन दबाब परेको छ ।
अफगानिस्तानका स्वास्थ्यकर्मीहरुले ओमिक्रोनले ठूलो मानवीय क्षति पुर्याउन सक्ने भएकाले हेलचक्र्याइ नगर्न र त्यसका विरुद्धमा लड्न आवश्यक पर्ने सबै तयारी तथा काम गर्न आग्रह गरेका छन् । आर्थिक तथा राजनीतिक रुपबाट यसको चुनौती सामना गर्नसक्ने गरी तयारी गर्न पनि स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । उनीहरुको आग्रह र दवावअनुसार नै सरकारले डब्लूएचओसँग ओमिक्रोन परीक्षणको किट माग गरेको अफगानिस्तानका स्वास्थ्य मन्त्री जाभेद हार्जारले पुष्टि गर्नुभयो । आफूहरुलाई ओमिक्रोनको परीक्षण गर्ने किटको खाँचो रहेकोले उपलब्ध गराइदिन डब्लूएचओलाई अनुरोध गरेको जनाइएको छ ।