बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नभएपछि आज विहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विमानस्थलमा उडान र अवतरण हुन सकेन/विमानहरु ढाका र कलकत्ता डाइभर्ट
मौसममा आएको खराबीका कारण आज विहानै देखि दिउसो सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरमा विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज विहानै देखि कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण हुन सकेको छैन ।
बाक्लो हुस्सु र कुहिरो लागेर भिजिबिलिटी नभएपछि विभिन्न देशबाट अवतरणका लागि आएका विमानलाई आज केही बेर आकासमा होल्ड गर्ने र अन्य देशमा डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईले जानकारी दिनुभयो । काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेपछि केही जहाजलाई ढाका र केही विमानलाई कलकत्ता डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । आँखाले हेरेर उडान गर्नुपर्ने अवस्था रहेकाले सबै उडान र अवतरण प्रभावित भएको हो ।
झापाको भद्रपुर बाहेक देशभरका सबै विमानस्थलमा हुस्सु र कुहिरो लागेकाले उडान र अवतरण गर्न सकिएको छैन ।