रुकुमका ६ हजार बालबालिकालाई खोप

Highlights राष्ट्रिय समाचार

रुकुम (पूर्व), १६ पुस (रासस) / रुकुम पूर्वमा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका हुन् ।

जिल्लाका विभिन्न विद्यालयमा सञ्चालन गरिएको अभियान र स्वास्थ्य कार्यालयबाट बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व)का कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले जानकारी दिनुभयो । सोमा सिस्ने गाउँपालिकाका दुई हजार ४५०, भूमे गाउँपालिकाका दुई हजार ५४ बालबालिकाले मेडर्ना खोपको पहिलो मात्रा लगाएका हुन् । पुथा उत्तर गङ्गा गाउँपालिकाका एक हजार ७१२ बालबालिकाले मोडर्नाको खोप लगाएको फोकल पर्सन गिरीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा यही पुस ६ देखि १० गतेसम्म सिस्ने र भूमे गाउँपालिकाका विद्यालयमा खोप अभियान चलाइएको थियो भने १० गतेदेखि १४ गतेसम्म पुथा उत्तर गङ्गा गाउँपालिकाको विद्यालयमा खोप अभियान चलाइएको थियो । स्वास्थ्य कार्यालयबाट अहिले पनि मोडर्ना खोप लगाउने कार्यक्रम चलिरहेको छ । खोप कार्यक्रम सुरु गर्नुभन्दा अघि जिल्लामा १२ वर्षभन्दा माथिका र १८ वर्षभन्दा कम उमेर समूहका बालबालिका करिब साढे ६ हजारको हाराहारीमा रहेको आँकलन गरिएको भए पनि अहिले यो उमेर समूहका बालबालिका धेरै भएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म खोप लगाएका बालबालिकाको सङ्ख्या ६ हजार बढी भइसकेको र अझै धेरै बालबालिका खोप लगाउन बाँकी रहेको गिरीले बताउनुभयो । स्वास्थ्य कार्यालयमा पुस २० गतेसम्म मोडर्ना खोप लगाउने कार्यक्रम संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *