आज पोल्ट्री दिवस :
चितवन, १७ पुस (रासस)/ सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनी धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन् ।
फिजिसियन डा. भोजराज अधिकारी भन्नुहुन्छ, “अण्डा पोषणको प्याकेज हो ।” मानिसलाई आवश्यक पर्ने खानेकुराको प्याकेज नै अण्डा भएको अधिकारी बताउनुहुन्छ । चिल्लोपना, कार्बोहाइटेड कम र प्रोटिन बढी अण्डामा पाइन्छ । उहाँले थप्नुभयो, “शरीरको वृद्धि विकास बढी हुनुपर्यो, कार्बोहाइटेड र चिल्लो कम हुनुपर्यो ।” अहिले नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, कोल्डस्टोर सबैको कारण धेरै कार्बोहाइट्रेड र चिल्लोपना भएको उहाँको भनाइ छ । यी दुईवटा कुरा कम हुन र प्रोटिन बढाउने कुरा अण्डा र कुखुराको मासुमा पाइने अधिकारी बताउनुहुन्छ ।
६० ग्रामको अण्डामा आठ ग्राम प्रोटिन पाइने भन्दै उहाँले भन्नुभयो, “दैनिक दुई वटा अण्डा खायो भने तीन भागको एक भाग उच्च गुणस्तरको प्रोटिन पाइन्छ ।” यसले मानिसको शरीरमा आवश्यक प्रोटिन पुर्याउन सहयोग पुग्छ । ज्वरो आउँदा, गर्भवती हुँदा अण्डाको उपभोग गर्न हुने भन्दै उहाँले अण्डाको पहेँलो भाग केही मात्रामा खान हुने उहाँको तर्क छ ।
मानव शरीरलाई दैनिक ३०० मिलिग्राम कोलस्टोर चाहिने भन्दै उहाँले एउटा अण्डामा २०० मिलिग्राम कोलस्टोर हुने बताउनुभयो । मस्तिष्क र मुटुलाई अण्डाले राम्रो गर्दछ । उहाँले भन्नुभयो, “हृदयघात हुनबाट पनि यसले रोक्न सहयोग पुर्याउँछ ।” अण्डाको पहेँलो भागमा भिटामिन तथा खनिज हुन्छ भने सेतो भागमा प्रोटिन हुन्छ । मानिसलाई आवश्यक अधिकांश पोषणतत्व यसबाट प्राप्त गर्न सकिने अधिकारीले जानकारी दिनुभयो । अस्पतालमा बिरामीका लागि खानेकुरामा पोषणको सन्तुलन मिलाउने गरिन्छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पोषण हेर्दै आउनुभएकी खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठ अधिकांश बिरामीलाई अण्डा दिइने गरेको बताउनुहुन्छ । यो राम्रो खालको प्रोटिन भएको भन्दै उहाँले घाउ निको पार्न, मांशपेसी बलियो बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन, मस्तिष्क एवं स्मरण शक्ति वढाउन, शल्यक्रिया गरेका घाउ छिटो निको पार्न, मानिसको तौल बढाउन, उचाइ बढाउन अण्डा उपयोगी हुने बताउनुभयो ।
अस्पतालका सामान्य बिरामी मात्र नभएर जटिल भई नाकबाट खाना खुवाउने बिरामीलाई दैनिक अण्डा खुवाउने गरेको उहाँले बताउनुभयो । प्रोटिन कम भएका बिरामीलाई दैनिक तीन-चार वटासम्म अण्डाको सेतो भाग खुवाउने गरिन्छ । कोही बिरामीको उच्च रक्तचाप र कोल्डस्टोर बढी भएमा पहेँलो भाग नखान भनिएको श्रेष्ठले जानकारी दिनुभयो ।