सिमकोट, १८ पुस (रासस)/ उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खोप लगाउने काम सम्पन्न गरेको हुन् ।
विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड– १९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिनुभयो । ती पालिकाका ती उमेर समूहका पाँच हजार ४९७ बालबालिकालाई ६१ खोपकेन्द्र मार्फत् खोप लगाइएको हो । ती मध्ये सिमकोटका एक हजार ४१४, नाम्खाका ३३१, खार्पुनाथका ६०३, अदानचुलीका एक हजार १७७, ताँजकोटका ५६७, चङ्खेलीमा ५७६ र सर्केगाड गाउँपालिकाका ८२७ रहेका छन् ।
उत्तरी नाम्खा गाउँपालिका–६ लिमी र यारीका बालबालिका खोप लगाउनबाट बञ्चित भएका छन् । यस क्षेत्रमा अत्यधिक चिसोका साथै बाक्लो हिमपातले स्वास्थ्यकर्मी र खोप पुर्याउन कठिनाइ हुने जनाइएको छ । यहाँका बालबालिकालाई खोप कहिले लगाउने भन्ने अझै टुङ्गो लागि नसकेको उहाँले बताउनुभयो । यसैगरी दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिका–१ र ५ मा रहेको नेक्पागाउँका बालबालिका खोप लगाउनबाट छुटेकालाई एक-दुई दिनमा खोप लगाउने अभियान सञ्चालन गरिनेछ ।।