भारतमा कोरोना महामारीको सम्भावित तेस्रो लहरबाट बच्न तयारी सुरु

अन्तर्राष्टिय समाचार

भारतमा कोरोना महामारीको सम्भावित तेस्रो लहरबाट बच्न तयारी सुरु/राजधानी नयाँ दिल्लीमा ३७ हजारभन्दा बढी अक्सिजन सहितका शैया तयारी अवस्थामा ।

भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि सम्भावित महामारीको तेस्रो लहरबाट जोगिन केन्द्रीय राजधानी नयाँ दिल्लीमा तयारी थालिएको छ । यस अघि कोरोनाको दोस्रो लहरमा उपचार नै नपाएर धेरै नागरिकले ज्यान गुमाउनु परेको थियो । त्यसलाई मध्य नजर राख्दै यसपटक राजधानी दिल्ली र आसपासका क्षेत्रमा अक्सिजन सहितका ३७ हजारभन्दा बढी शैयाहरु तयारी अवस्थामा राखिएको छ ।

दिल्ली प्रदेशभित्र रहेका अक्सिजन सहितका कूल शैयामध्ये ०.२ प्रतिशत शैया मात्रै अहिले प्रयोगमा रहेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिनु भएको जानकारी अनुसार अक्सिजन सहितका कूल शैयामध्ये ८२ शैया मात्रै अहिले प्रयोगमा रहेका छन् । कोरोना भाइरसको महामारी फेरि फैलिएर अक्सिजन सहितको शैया आवश्यक परेमा पर्याप्त हुनेगरी व्यवस्था गरिएको पनि मुख्यमन्त्री केजरीवालले बताउनुभयो ।

अक्सिजन सहितका कूल शैया मध्ये ९९.७८ प्रतिशत शैया अहिले खाली नै रहेकाले चिन्ता लिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । कोरोना भाइरसको महामारी फैलिएका बेला सबैभन्दा ठूलो आवश्यकता अक्सिजन सहितका शैयाको पर्ने भएकाले उच्च प्राथमिकताका साथ यसको व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले बताउनुभयो । कोरोना भाइरसबाट सङ्क्रमितमध्ये गम्भीर अवस्थामा रहेकालाई मात्रै अक्सिजन सहितको शैयाको आवश्यक पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *