नयाँ दिल्ली/ भारत सरकारले प्रदान गर्ने विशिष्ट सम्मान साहित्य अकादमी बालसाहित्य सम्मान पाउने लेखकहरुको नाम घोषणा गरेको छ । यो सम्मान बालसाहित्य लेखनमा विशिष्ट सिर्जना गर्ने लेखकलाई हरेक वर्ष प्रदान गर्ने गरिन्छ । भारतको राष्ट्रभाषा हिन्दी लगायत अन्य प्रान्तका राष्ट्रिय भाषाका लेखकहरुलाई पनि फरक फरक भाषामा उत्कृष्ट बालसाहित्य सिर्जनाका लागि यो सम्मान प्रदान गर्ने गरिन्छ ।
वर्ष २०२१ का लागि हिन्दी भाषाका लागि बालसाहित्य सम्मान लेखक देवेन्द्र मेवाडीले प्राप्त गर्नुभएको छ । उहाँको कृति नाटक नाटक मे विज्ञान (रेडियो नाटक संग्रह) का लागि उहाँलाई यो पुरस्कार प्रदान गरिएको हो । लेखक देवेन्द्र बालबालिका माझमा विज्ञान चेतनाका सामग्री लेख्ने लेखकका रुपमा सुपरिचित हुनुहुन्छ ।
त्यस्तै भारतको नेपाली भाषामा लेख्ने लेखकलाई नेपाली भाषाका लागि साहित्य अकादमी बालसाहित्य सम्मान वर्ष २०२१ का लागि लेखक सुदर्शन अम्बटे चयन हुनुभएको छ । लेखक अम्बटेले रचना गर्नुभएको बालकविताकृति झ्याउँकिरी र जूनकिरी का लागि उहाँलाई यो सम्मान प्रदान गरिएको हो । दुवै लेखकलाई बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले प्रतिष्ठान र आफ्नो तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।