गण्डकी, २० पुस (रासस)/ पोखरामा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री वितरण गरिएको छ । आइएनएफ नेपालले पोखरा महानगरपालिका–२० लाई ‘कोभिडमा राहत सामाजिक क्षेत्रको साथ, परोपकारी मनले बढाउ सहयोगी हात’ भन्ने मूल नाराका साथ स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
आइएनएफ नेपालले कोभिडको वर्तमान अवस्था र आउन सक्ने तेस्रो लहरलाई मध्यनजर गरी वडालाई छ थान अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री वितरण गरेको हो । सामग्री प्रदान गर्दै आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले विशेषगरी कोभिडबाट प्रभावित भएकालाई समाजमा अझै पनि हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले उनीहरुलाई मनोपरामर्श गर्ने कामसँगै अप्ठेरोमा परेकालाई समेत उपचारमा सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।
कोभिडको प्रभावमा परेका अपाङ्ग, एकल महिला तथा विपन्न परिवारकालाई उपचारमा समेत सहयोग गर्दै आइरहेको र आगामी दिनमा पोखरा–२० मा रहेको विपद्मा परेका अति विपन्न परिवारलाई समेत सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।