भारी वर्षा र हिमपातका कारण देशको अवस्था थप नाजुक बनेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार वर्षा र हिमपातका कारण आउनसक्ने सङ्कटको सामना गर्न थप तयारीका लागि विपद् व्यवस्थापन राज्य मन्त्रालयका अधिकारीहरूले प्रभावित क्षेत्रका प्रदेश अधिकारीहरूलाई निर्देशन दिएका हुन् । हिमपात र वर्षाको समयमा नागरिकहरूलाई सहयोग गर्न प्रान्तहरूमा सामग्रीहरू पठाइएको र तिनीहरूको वितरण भइरहेको जनाइएको छ ।
अफगानिस्तानका ३४ प्रान्तमध्ये ३२ प्रान्तमा निरन्तर हिमपात र वर्षा भइरहेको छ । वर्षा र हिमपातका कारण ठाउँठाउँमा सडकहरु अवरूद्ध भएका छन् । अविरल वर्षाका कारण केही स्थानमा बाढी पहिरो गएको छ । भीषण हिमपातका कारण बन्द भएका सेवाहरूलाई पुनः सञ्चालनमा ल्याउन जनश्रम मन्त्रालय र अन्य केही निजी कम्पनीहरू पनि विपद् व्यवस्थापन अधिकारीहरूसँग सम्पर्कमा रहेको बताइएको छ । राजधानी काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने सलाङ राजमार्ग भारी हिमपात र हावाहुरीका कारण पूर्णरूपमा अवरूद्ध बनेको खामा प्रेसले जनाएको छ ।