शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

राष्ट्रिय विद्यालय समाचार समाचार

चितवन, २२ पुस (रासस)/ शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको हो । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताउनुभयो । महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता कार्यक्रम उक्त महानगरपालिकाले मात्र गरेको छ । यी कार्य अन्य पालिकाका लागि सिको गर्ने कार्य भएको उहाँको भनाइ छ ।

भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । सङ्घीय सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ । अन्य पालिकाले गर्न नसकेका काम भरतपुरले गर्न सकेको उहाँको भनाइ छ । महानगरपालिकाले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेका लागि वार्षिक रु १० हजार छात्रवृत्ति उपलब्ध गराउन सुरु गरेको छ । सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीको न्यूनतालाई परिपूर्ति गर्ने उद्देश्यले महाननगरपालिकाले स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न चालु आर्थिक वर्षमा महानगरको आन्तरिक स्रोतबाट रु ६५ लाख अनुदान रकम विनियोजन गरेको छ । शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले ३० युवा स्वयंसेवक शिक्षक परिचालन गरिने बताउनुभयो ।

सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिन सो कार्यक्रम राखिएको उहाँको भनाइ छ । यससँगै सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको महत्वपूर्ण कार्य सम्पन्न भएको छ । यस अवधिमा सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्यामा करिब छ हजार वृद्धि भएको उहाँले बताउनुभयो । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि विसं २०७५ मा ५६ दशमलव ४७ प्रतिशत रहेकामा शैक्षिक सत्र विसं २०७७ मा पाँच दशमलव ५३ प्रतिशतले वृद्धि भई ६२ प्रतिशत पुगेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य प्रगति भएको पौडेलको भनाइ छ ।

कूल साक्षरता दर गुणस्तरमा ९८ दशमलव पाँच प्रतिशत रहेको छ । विभिन्न स्थानमा नमूना विद्यालय स्थापना भएको उहाँले बताउनुभयो । शिक्षकको प्रविधि उपयोगको क्षमता विकास गर्न आइसिटी तालिम सञ्चालन गरिएको छ । सबै आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गरी शिक्षासँग सिकाइ जोडिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *