छाडा पशु संरक्षण केन्द्र अनुसन्धानस्थल बन्दै

राष्ट्रिय समाचार

तनहुँ, २४ पुस (रासस)/ व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको गौ संरक्षण केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धानस्थल बनाइने भएको छ । छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरुको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरुप बिगारिदिने लगायतका समस्या देखिएपछि नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापन गरिएको हो । केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशुचौपाया छन् ।

स्थानीयदेखि उन्नत जातसम्मका गाई संरक्षण केन्द्रमा छन् । मानिसले गाईले दूध दिँदासम्म पाल्ने र त्यसपछि छाडिदिने प्रवृत्ति बढेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरेको हो । केन्द्रका कतिपय गाई ब्याएर दूधसमेत दिन थालेका छन् । केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धानस्थलको रुपमा विकास गर्नको लागि नगरपालिकाको बैठकमा कुरा उठान भएकाले प्रक्रिया अघि बढाउन लागिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । गाईको मलमूत्रबाट के के बन्न सक्छ, कस्ता कस्ता औषधि बन्न सक्छन् र अर्गानिक अन्नबालीमा कत्तिको लाभदायिक हुन्छन् भन्ने विषयमा अध्ययन अनुसन्धान गरिने छ । स्थानीय जातको गाईको संरक्षण गर्दै धार्मिक र पौराणिक मान्यतअनुसार पुरोहित राखेर अनुसन्धान कार्य अघि बढाउन लागिएको उहाँले बताउनुभयो ।

नगरपालिका क्षेत्रको कुहिने फोहोर र गाईबस्तुको मलमूत्र सङ्कलन गरी केन्द्रमा निर्माण गरिएको करिब ६० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट ग्याँस उत्पादन वृद्धि भएको छ । छाडा पशुपालन केन्द्रमा कुँडो पकाएर मात्रै ग्यास खपत हुन नसकेपछि सोही स्थान नजिक रहेको कोभिड व्यवस्थापन अस्पताल र पीसीआर प्रयोगशालामा ग्यास प्रयोग गर्ने तयारी गरिएको छ । अस्पतालमा खाना पकाउन, तातोपानी तताउन, सिरिन्ज सफा गर्नेलगायतका कार्यमा प्रयोग गर्न लागिएको वडाध्यक्ष सापकोटाले बताउनुभयो । उक्त प्लान्ट नगरपालिकाको रु सात लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु सात लाख गरी कूल १४ लाखमा निर्माण गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *