रुकुममा हिमपातले काम रोकियो

राष्ट्रिय समाचार

रुकुम (पूर्व), २३ पुस (रासस)/ रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–१ मा पाखा ओराली लघुजलविद्युत् आयोजनाको काम रोकिएको छ । हिमपातका कारण उक्त लघुजलविद्युत् आयोजनाको काम रोकिएको हो । यही माघसम्म काम सम्पन्न गरिसक्नुपर्ने उक्त विद्युत् आयोजनाको काम हिमपातका कारण धकेलिने भएको छ ।

गएको साता बाक्लो हिउँ परेपछि काम गर्न सिस्ने–१ मा गएका प्राविधिक कर्मचारी र कामदार सबै फिर्ता भएका छन् । हिउँ नपग्लिँदासम्म काम पुनः सुरु गर्न नसकिने वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । सम्झौता भएको दुई वर्षभित्र अर्थात् गएको आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसक्नुपर्ने उक्त विद्युत् आयोजनाको काममा कोभिडका कारण सामान ढुवानी गर्न नसक्दा धक्का पुगेको थियो । आगामी माघसम्मको म्याद थप गरेर काम अघि बढाए पनि अहिले हिमपातका कारण सबै कामकाज पूर्णरूपमा ठप्प भएको वडाध्यक्ष बुढाले बताउनुभयो ।

विद्युत् आयोजनाका लागि भनेर पाखाओरालीमा पुर्याइएको १२ क्विन्टल सिमेन्ट पनि नष्ट भएको वडाध्यक्ष बुढाले बताउनुभयो । उहाँका अनुसार हिउँले पर्खालमा पनि क्षति पुगेको छ । देउखोलाबाट प्रतिखेप दुई दिन लगाएर खच्चड मार्फत् ढुवानी गरिएको सिमेन्ट नष्ट हुँदा समस्या भएको हो । श्रमदानसहित रु तीन करोड ७७ लाखको लागतमा निर्माण हुन लागेको विद्युत् आयोजनाको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *