सुदूरपश्चिममा कोरोना जोखिम बढ्दै

राष्ट्रिय समाचार

सुदूरपश्चिम, २३ पुस रासस/ भारतबाट नेपाल भित्रिने नागरिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम थप बढेको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिएसँगै त्यसको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढेको छ । विद्यालयमा सामाजिक दूरी कायम राख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने विषयमा त्यति चासो राखिएको देखिँदैन । धेरै नागरिक विना मास्क हिँडिरहेका देखिन्छन् ।

राजनीतिक दलले आमसभा तथा भेला र विभिन्न सङ्घसंस्था, कार्यालयले भीड बढ्ने गरी बैठक तथा अन्तरक्रिया जस्ता कार्यक्रम गर्न छाडेका छैनन् । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो तीन दिनमा २१५ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । सङ्क्रमित अधिकांश सीमा नाकाबाट प्रदेशमा भित्रिएका नागरिक छन् । बुधवार एकै दिनमा पश्चिमी सिमानाका कञ्चनपुरको गड्डा चौकी, कैलालीको गौरीफन्टा र बैतडी सीमा नाकाबाट भित्रिने १०७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो ।

सीमा नाकामा एन्टिजेन पद्धतिबाट भित्रिने नागरिकको कोरोनाको नमूना परीक्षण गर्ने गरिएको छ । सङ्क्रमण बढ्न थालेपछि भारतमा आफ्नो काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या बढ्दा पनि प्रदेशमा जोखिम देखिएको हो । नाकाबाट भित्रिने सबै नागरिकको एन्टिजेन परीक्षण गर्नमा सचेतना अपनाइए पनि भित्रिने कतिपय नागरिकबाट लापरबाही भइरहँदा यो रोगको जोखिम बढेको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *