इजरायलमा कोरोना विरुद्धको चौथो खोप

अन्तर्राष्टिय समाचार

इजरायलका दुई लाख ५० हजारभन्दा बढी मानिसलाई कोरोना भाइरस विरुद्धको चौथो खोप दिइएको छ । कोरोना विरुद्ध चौथो मात्रा खोप दिने इजराइल विश्वमै पहिलो मुलुक हो । कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टहरू देखिँदै थप तीव्रताका साथ फैलिन थालेपछि अतिरिक्त खोप लगाउने क्रममा इजरायलमा चौथो खोप लगाउन थालिएको हो ।

अतिरिक्त खोप लगाएकालाई कोरोना लागे पनि कम असर गर्ने अध्ययनबाट पुष्टि भएकाले विभिन्न देशहरूले अतिरिक्त खोप लगाउने अभियान सुरु गरेका छन् । केही दिन अगाडि सुरु भएको चौथो खोप लगाउने अभियान अन्तर्गत सुरुमा अग्रपङ्क्तिमा काम गर्ने र ज्येष्ठ नागरिकहरूलाई लगाउने गरिएको छ ।

चौथो खोप लगाउने अभियान अत्यन्त प्रभावकारी र तीव्ररूपमा भइरहेको प्रधानमन्त्री नाफ्ताली बेन्नेटले जानकारी दिनुभयो । आइतबार मात्रै पाँच हजार जनालाई अतिरिक्त खोप लगाइएको विवरण सार्वजनिक गरिएको छ । सोही अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या भने १७ हजारभन्दा धेरै रहेको छ ।

इजरायलमा गत सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो । तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ । देशमा चौथो मात्राको खोप लगाउन सुरु गर्ने निर्णय सरकारले अघिल्लो आइतबार मात्रै गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *