कालीञ्चोकमा हिउँ खेल्नेको भीड

Highlights राष्ट्रिय समाचार

कालीञ्चोक, २६ पुस (रासस)/ दर्जनौँ हिमालको नजिकमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक रुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लो छ ।

केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने आगन्तुकको सङ्ख्यामा वृद्धि भएको छ । सोही कारण कुरी बजारले पर्यटक धान्नै सकेको छैन । हिउँ खेल्न साथै अग्लो पहाडमा उभिएकी कालीञ्चोक भगवतीको दर्शन गर्न आउने पर्यटक बाक्लिएका छन् । कालीञ्चोक कुरी बजारमा रहेको डिकी होटेलका सञ्चालक राम तामाङका अनुसार हिमपात अघिभन्दा हिमपातपछि पर्यटकको चाप धेरै हुने गरेको छ ।

हिउँ पर्नुभन्दा अघि यतिको सङ्ख्यामा पर्यटक आउने गरेका थिएनन् । आएका पर्यटकलाई सजिलैसँग सेवा दिन सकिन्थ्यो । अहिले पर्यटकको चाप बढेसँगै धेरै खट्नुपरेको छ । शुक्रबार त झन् थामिसक्नु हुँदैन । कालीञ्चोक भगवती मन्दिर परिसर साथै वरपरबाट आँखै अगाडि देखिने गौरीशङ्कर, दोर्जेलाक्पा, रोल्वालिङ, जुगल, लाङटाङ लगायतका हिमशृङ्खलाका कारण पनि कालीञ्चोकको सुन्दरतामा सुनमा सुगन्ध थपिदिएको छ । हिमालै हिमालको बीच र हिउँनै हिउँको पहाडमा रहेकी कालीञ्चोक भगवतीको दर्शनमा भने युवाभन्दा बढी पाको उमेरका भक्तजन आउने गरेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *