केटाकेटी अनलाइन वर्षका उत्कृष्ट लेखक पुरस्कार देउजालाई र कान्छा स्रष्टा पुरस्कार श्रेष्ठलाई प्रदान गरिने

राष्ट्रिय समाचार

केटाकेटी अनलाइन युट्युब च्यानलमा वर्षका सबैभन्दा बढी हेरिएको लेखक पुरस्कार साहित्यकार सुशीला देउजालाई र कान्छा स्रष्टा पुरस्कार कान्छी चित्रकार आश्रिति श्रेष्ठलाई प्रदान गरिने भएको छ । साहित्यकारद्वय देवु लुइँटेल र रामबाबु सुवेदी क्रमशः दोस्रो र तेस्रो हुनुभएको छ ।
पहिलो चरणमा १५ जना लेखकका रचनाहरु छनोट गरी आयोजित यस प्रतियोगितामा अन्तिम चरणमा सबैभन्दा बढी भ्युजका आधारमा लेखक देउजा पुरस्कृत हुनुभएको हो । उहाँको ५ हजार १ सय भ्युज रहेको छ भने उहाँका अन्य प्रतिस्पर्धी दोस्रो हुने लेखकको १ हजार ३ सय र तेस्रो हुने लेखकको ४ सय ८० भ्युज रहेको छ । भ्युजका आधारमा दोस्रो र तेस्रो हुने साहित्यकारद्वय क्रमशः देवु लुइँटेल र रामबाबु सुवेदी रहनुभएको छ ।


केटाकेटी अनलाइनले हरेक वर्ष सबैभन्दा बढी हेरिने एक जना लेखकलाई ‘केटाकेटी अनलाइन वर्षका उत्कृष्ट लेखक’ उपाधीसहित नगद रु ९ हजार ९ सय ९९ र ताम्रपत्रसहित पुरस्कृत गर्न सुरु गरेको यो पहिलो वर्ष हो । यो पुरस्कार अब हरेक वर्ष प्रदान गरिने भएको छ ।
त्यस्तै ९ वर्षको उमेरमा युवा लेखक समीर कोजूद्वारा लिखित बालचित्रकथाकृति करण र कार्टुन मा उत्कृष्ट चित्रांकन गर्ने कान्छी चित्रकार आश्रिति श्रेष्ठलाई यस वर्षको ‘केटाकेटी अनलाइन उत्कृष्ट कान्छा स्रष्टा’ उपाधीसहित नगद रु ९ हजार ९ सय ९९ र ताम्रपत्रसहित पुरस्कृत गरिने भएको छ । यो पुरस्कार पनि अब हरेक वर्ष प्रदान गरिने भएको छ । यस वर्ष प्रथम भई पुरस्कृत हुन सफल बालकथा पानी बेच्ने केटी को अडियो केटाकेटी अनलाइनका उपसम्पादक पत्रकार सरिता अर्यालले सुमधुर वाचन गरी तयार गर्नुभएको हो ।
यो प्रतियोगिता केटाकेटी अनलाइन युट्युब च्यानलमा प्रसारित लेखकका रचना सामग्रीको आधारमा आयोजना गरिएको हो । यस प्रतियोगितामा वर्ष २०२२ का लागि समावेश हुन चाहने लेखकहरुले आआफ्ना रचना केटाकेटी अनलाइनको इमेल ठेगानामा पठाउनु पर्नेछ । प्राप्त रचनाहरुको अडियो तयार गरी भिडियो माध्यमबाट च्यानलमा पोस्ट गर्ने काम केटाकेटी अनलाइनको टिमले नै गर्नेछ । केटाकेटी अनलाइनको इमेल ठेगाना ketaketionline@gmail.com हो ।

सबैभन्दा धेरै हेरिएर पहिलो भई पुरस्कृत रचना तलको लिंकमा क्लिक गरी सुन्नुहोस् ।

दोस्रो भएको रचना तलको लिंकमा क्लिक गरी हेर्नुहोस् ।

तेस्रो भएको रचना तलको लिंकमा क्लिक गरी हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *