५७ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

अचम्मको जानकारी अन्तर्राष्टिय समाचार

अमेरिकाका एक पुरुषमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड ब्यानेटलाई अनुवांशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको विश्वमै पहिलोपटक हो । चिकित्स टोलीले ७ घन्टा लामो शल्यक्रिया गरी मुटुको प्रत्यारोपण गरेका हुन् ।

युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका अनुसार मुटु प्रत्यारोपण गर्न सात घण्टा समय लागेको थियो । प्रत्यारोपणपछि बेनेट अहिले स्वस्थ रहेको बीबीसीले जनाएको छ ।

‘यो प्रत्यारोपण बेनेटको जीवन बचाउने अन्तिम उपाय थियो । यद्यपि अब उनी कति लामो समयसम्म बाँच्न सक्छन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन,’ बीबीसीले लेखेको छ ।

अपरेशन गर्नुअघि ब्यानेटले भनेका थिए– यो प्रत्यारोपण ‘बाँच या मर’ भनेजस्तै थियो । उनले भनेका छन्, ‘मलाई थाहा छ यो अँध्यारोमा तीर हानेजस्तै हो तर यो अन्तिम मौका थियो ।’

यदि बेनेटको यो अपरेशन नगरेको भए उनी मर्ने थिए । त्यसैले युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई अमेरिकाको स्वास्थ्य नियामकले यो शल्यक्रियाका लागि विशेष छुट दिएको थियो । यो प्रत्यारोपण गर्ने मेडिकल टिमले धेरै वर्ष अगाडिदेखि यसबारे अनुसन्धान गरेको थियो ।

प्रत्यारोपण सफल भएपछि युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरले शल्य चिकित्सक बार्टले पी ग्रिफिथलाई उद्धृत गर्दै  यो शल्यक्रिया विश्वमा अंगको संकट समाधानमा एक कदम नजिक ल्याएको छ ।

अमेरिकामा हरेक दिन १७ जना मानिसको प्रत्यारोपणका लागि पर्खिंदा पर्खिंदै ज्यान जाने गरेको छ । एक लाखभन्दा बढी मानिसहरु प्रत्यारोपणको पालो कुरिरहेका छन् । यस्तो अवस्थामा जनावरको अंग मानिसमा प्रत्यारोपण  को सम्भावनाबारे धेरै अगाडिदेखि नै अनुसन्धान भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *