आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मरण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ । यस वर्ष पृथ्वी नारायण शाहको ३०० औँ जन्म जयन्ती मनाइँदै छ ।
पृथ्वीनारायण शाह राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको शुरुवात गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन लागिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी पृथ्वी जयन्तीकै अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि सिंहदरवारको पूर्व गेटमा अवस्थित राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।।