कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीसीको सिफारिस कार्यान्वयन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन जारी गरेको छ । मन्त्रालयमा हिजो बसेको बैठकले सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति मार्फत् जानकारी दिनुभएको छ ।
वार्षिक बिदामा मिलान हुने गरी आजदेखि माघ १५ गते सम्म विदा दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न मन्त्रालयले निर्देशन दिएको छ । विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनु पनि भनिएको छ ।
त्यस्तै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको पूर्व निर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ । साथै विदाको समयमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम रहेको हुँदा कोही पनि नछुट्नका लागि विद्यालयका प्राधानाध्यापकले स्थानी तह मातहतका स्वास्थ्य चौकीसँग समन्वयन गर्नु पर्ने विज्ञप्तीमा उल्लेख छ ।