भक्तपुरका ६ हजार विद्यार्थीले लगाए खोप

राष्ट्रिय समाचार

भादगाउँ, २८ पुस (रासस)/ भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियान अन्तर्गत् १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् । विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो ।

स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार मङ्गलबारसम्म जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयमा खोप अभियान सम्पन्न भएको छ । त्यस्तै मध्यपुरथिमि र भक्तपुर नगरपालिकाका विद्यालयमा मङ्गलबारदेखि खोप अभियान सुरु भएको मिजारले बताउनुभयो । कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन भइरहेको छ ।

विद्यालय बन्द भए पनि स्थानीय तह र विद्यालयले समन्वय गरी खोप लगाइने भएको हो । भक्तपुर नगरपालिकाले खोप अभियान बिहान ९ बजे देखि ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधानको व्यवस्था गरेको छ । खोप अभियानका लागि भक्तपुरले विभिन्न विद्यालय तथा कलेजमा खोप केन्द्र तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *